Happy Dashain and Durga Puja
Thursday, September 28, 2006सत्ययुगमा शक्तिशाली महिषासुरले स्वर्गका राजा इन्द्रलाई जितेर आतंक मच्चाउन थालेपछि ब्रह्मा, महेश्वरसहित सम्पूर्ण देवताहरूले शक्तिस्वरूपा माता दुर्गाको उपासना गरेपछि नवदुर्गाको रूप लिएर महिषासुरको बध गरेको कुरा उल्लेख छ । शुम्भ-निशुम्भ, महिषासुर, दुर्ग, रक्तवीजजस्ता दानवहरूको संहार गरी देवता एवं मानव जातिको कल्याण गरेपछि सोही खुसियालीमा बडादसैं मनाउन थालिएको कुरा पुराणमा उल्लेख छ । हिन्दू धर्ममा देवीलाई शक्तिको प्रतीकका रूपमा लिइन्छ । त्यसैले शक्ति एवं सिद्धिकी प्रतीक देवी दुर्गाको पूजा-आराधनाले रोग-व्याधी हट्ने, दुःख नष्ट हुने, सौभाग्य र शक्ति प्राप्त हुने विश्वास गरिन्छ । दुर्गा भवानीको नौ दिनसम्म विशेष पूजापाठ गरी दशमीका दिन महाकाली, महालक्ष्मी तथा महासरस्वतीको पूजा गरेर आफ्ना मान्यजनहरूबाट टीका ग्रहण गरी जमरा थाप्दै आशीर्वाद लिइन्छ ।
माता दुर्गा मंगल, कल्याण तथा आनन्दकी प्रतीक पनि हुन् । दसैंमा शक्तिपीठहरूमा देवीको पूजाआजा गर्ने चलन छ भने काठमाडौं उपत्यकामा गुह्येश्वरी, शोभा भगवती, मैतीदेवी, भद्रकाली, नक्साल भगवती, रक्तकाली, दक्षिणकाली, नरदेवीमा धुमधामका साथ पूजाआजा, भजन-कीर्तन गर्दै सप्तमीदेखि दशमीसम्म बली चढ्ने शक्तिपीठहरूमा बलि चढाइन्छ । बली नचढाउनेहरूले नरिवल र कुभिन्डो चढाउँछन् । त्यस्तै उपत्यकाका प्रमुख शक्तिपीठहरूमध्ये संकटा, हनुमानढोकास्थित मातृशक्तिका रूपमा परम्परादेखि पूजा गरिँदै आएकी तुलजा भवानीको मन्दिरमा अष्टमी र नवमीका दिन भव्य पूजा गरिन्छ । दसैंको एकदिन मात्र खुल्ने तलेजु भवानी मन्दिर भक्तजनहरूका लागि नवमीका दिन खुला गरिन्छ । घटस्थापनाको दिन दुर्गा भवानीको विधिपूर्वक पूजा-आराधना गरेर जमरा राखेपछि प्रत्येक दिन देवीको स्तोत्र पाठ गर्दै पूजा गरिन्छ । सप्तमीका दिन फूलपाती भित्र्याइन्छ । त्यसदिन गोर्खाबाट फूलपाती ल्याएर हर्षबढाइका साथ हनुमानढोकामा भित्र्याउने चलन छ । अष्टमीका दिन पूजाआजा गरेर साँझ कालरात्रि गरिन्छ । यसरी हर्षोल्लासका साथ मनाइने हिन्दूहरूको महान् पर्व बडादसैं शरद् ऋतुमा पर्ने भएकाले पनि चिसो हावा, पारिलो घाम एवं स्वच्छ मौसमका कारण पनि थप रमाइलो हुन्छ ।









